एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालको सुधार

न्युजलय ८ चैत २०७९, बुधबार ०८:१६ मा प्रकाशित

काठमाण्डौ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालले सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । 

आईसीसीको एकदिवसीय वरीयताअनुसार नेपाल १५ औँ स्थानमा छ । नेपाल ओमानलाई पछि पार्दै १५ औँ स्थानमा उक्लिएको हो । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले वरीयतामा सुधार गरेको हो ।

नेपालले लिग–२ को पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दा एकदिवसीय वरीयतामा नेपाल एक महिनामै १९ औँ स्थानबाट १५ औँ स्थानमा आइपुगेको हो ।

एकदिवसीय वरीयतामा नेपालभन्दा पछि ओमान १६ औँ, नामिबिया १७ औँ, अमेरिका १८ औँ, यूएई १९ औँ र पपुवा न्यु गिनी २० औँ स्थानमा छ ।