पाँचथर । गेडी मानिसको पछिल्लो भाग (हिप) नजिकै हुन्छ जसले तिघ्रा र कम्मरको पछिल्लो भागलाई जोड्ने काम गर्छ । दबाब पर्ने गरी पछारिँदा वा थेचारिँदा गेडी खुस्किन्छ ।
पाँचथर जिल्ला अस्पतालमा पहिलो पटक गेडीको सफल प्रत्यारोपण गरिएको छ । जसलाई चिकित्सकको भाषामा हेमी रिप्लेसमेन्ट आर्थोपोलोजी भनिन्छ ।
हाडजोर्नी विशेषज्ञ डाक्टर देउमान लिम्बू नेतृत्वको टोलीले चार घण्टा लगाएर ताप्लेजुङ फुङलिङ–१ की ६० वर्षीया दिलकुमारी लिम्बूको शनिबार गेडी प्रत्यारोपण गरिएको हो ।
असोज १० गते बलेसीमा लडेर गेडी खुस्केकी उनलाई ११ गते साँझ पाँचथर अस्पताल ल्याइएको श्रीमान् रामकेशर लिम्बूले बताए ।
चिकित्सकहरुका अनुसार गेडी प्रत्यारोपण र यसको पूर्व तयारीमा गरिने अप्रेसनलाई जटिल प्रकृतिको मानिन्छ । यसअघि यो अप्रेसन कोशी अञ्चलका कुनै सरकारी अस्पतालमा भएको थिएन ।