विराटनगर । मोरङको धनपालथानमा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धनपालथान गाउँपालिका–६ मा सोमबार साँझ दुर्घटना हुँदा विराटनगर महानगरपालिका–७ मिलन चोकका २२ वर्षीय दिलिप विकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको को १९ प ७७४७ नम्बरको र विपरीत दिशातर्फ जाँदै गरेको को १९ प २ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। विकलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिए।
दुर्घटनामा अर्को मोटरसाइकलका चालक धनपालथान–५ का २५ वर्षीय रुपेश सरदार पनि घाइते भएका छन्। अवस्था सामान्य रहेका उनको कोशी अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
दुवै मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।