इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित भुटाहा पुल नजिक ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
सप्तरीबाट हरिनगरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२०७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प ४४३० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार दुवै घाइते भएका थिए ।
घाइतेमध्ये मोटरसाइकल चालक भोक्राहा–४ का ३५ वर्षीय लक्ष्मण मेहता र पछाडि सवार भोक्राहा–२ की करिब ४० वर्षीया रसिदा खातुनलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको थियो ।
उपचारको क्रममा खातुनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । चालक मेहताको भने थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक र मोरङ ग्रामथान गाउँपालिका–५ का ३२ वर्षीय चालक रमेश घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान सुरु गरेको छ ।