बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी धरौटीमा रिहा

न्युजलय ३० फाल्गुण २०७९, मङ्गलबार ०७:३५ मा प्रकाशित

काठमाडौँ । बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा रिहा भएका छन् । विद्युतीय कारोबार ऐन–२०६३ विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । 

अदालतले तोकेको धरौटी रकम तिरेर उनी रिहा भएको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले बताए । थाइल्याण्डबाट नेपाल आउँदै गर्दा फागुन ८ गते उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । रेग्मी विरुद्ध सांगीतिक क्षेत्रका महेशचन्द्र आचार्यले जाहेरी दिएका थिए । आचार्य गीत रचनाकार हुन् । 

रेग्मीले सामाजिक सञ्जाल (फेसबुक)मा समग्र स्रष्टा विरुद्ध घृणा फैलाउने सामाग्री पोष्ट गरेको आचार्यको आरोप छ । दिवंगत कलाकारहरुलाई पनि रेग्मीले होच्याएर पोष्ट गरेको र कलाकारहरुलाई जनावरसँग तुलना गरेर पोष्ट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आचार्यलाई पनि आरोपीले जनावरसँग तुलना गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

काठमाडौँबाट सञ्चालित एक अनलाइनमा आफ्नो संस्थाबारे ‘घुस्याहा संस्था’ भन्दै नकारात्मक लेख प्रकाशित भएपछि आवेगमा त्यस्तो पोष्ट गरेको रेग्मीले प्रहरीसँगको बयानमा बताएका छन् ।