सिर्जना राईको नेतृत्वमा अनेम संघ कोशी प्रदेशको कार्यसमिति सर्वसम्मत

न्युजलय ९ भदौ २०८३, मङ्गलबार ०५:१७ मा प्रकाशित

इटहरी । अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीको दोस्रो प्रदेश सम्मेलनले सिर्जना राईलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको छ । त्यस्तै पुष्पकला भुजेल र सरला राई उपाध्यक्ष, दुर्गादेवी खनाल काफ्ले सचिव, सिर्जना नेपाली सहसचिव र हेमकुमारी चौहान कोषाध्यक्ष निर्वाचित भएका छन् ।


इटहरीमा सम्पन्न सम्मेलनले संगठनलाई थप सुदृढ र गतिशील बनाउँदै महिलाका राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका सवाललाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धतासमेत गरेको छ । 


सम्मेलनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गरेका थिए। कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल, केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज विणादेवी राई तथा नेकपा (एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालगायतको उपस्थिति थियो।


सम्मेलनले कोशी प्रदेशका सबै जिल्ला, पालिका, वडा र टोलसम्म संगठन विस्तार तथा सुदृढीकरणलाई मुख्य कार्यभारका रूपमा अघि सारेको छ। विशेषगरी युवा तथा नयाँ पुस्ताका महिलालाई संगठनमा जोड्ने, नेतृत्व विकासका अवसर प्रदान गर्ने, राजनीतिक सहभागिता तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने र महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै नेतृत्वमा स्थापित गर्ने विषयलाई प्राथमिकता दिइएको छ।


त्यसैगरी महिला हिंसा, घरेलु हिंसा, विभेद, शोषण तथा महिलामाथि हुने अन्यायविरुद्ध सशक्त रूपमा प्रस्तुत हुँदै महिला अधिकारको संरक्षण र कार्यान्वयनका लागि निरन्तर आवाज उठाउने निर्णय सम्मेलनले गरेको छ।


सम्मेलनले अखिल नेपाल महिला संघलाई अझ सुदृढ, एकताबद्ध, अनुशासित र जनमुखी संगठनका रूपमा अघि बढाउने स्पष्ट दिशा तय गरेको अध्यक्ष राईले जानकारी दिएकी छिन् । संगठनले महिलालाई केवल अधिकारका विषयमा आवाज उठाउने भूमिकामा सीमित नराखी अधिकारप्रति सचेत, आत्मनिर्भर र निर्णायक भूमिकामा स्थापित गर्दै नेतृत्वदायी तहमा पुर्‍याउने लक्ष्य लिएको उनले बताइन् । 

 

यस्तै उनले पछिल्लो समयमा एमालेमा आकर्षण बढिरहेको समेत बताएकी छिन् । नयाँ पार्टीले जनअपेक्षाअनुसार काम नगरेको र निम्न वर्गलाई नहेरेपछि अहिले एमालेमा फर्किने क्रम तीव्र रहेको बताइन् ।