केयरगिभर तालिमलाई पूर्वभरी फैलाउँदै इटहरीको यलम्बर ट्रेनिङ सेन्टर

न्युजलय ३० साउन २०८१, बुधबार ०४:१९ मा प्रकाशित

इटहरी । नेपालीहरु केयरगिभरको रुपमा जाने मुख्य गन्तव्य हो, इजरायल । तर लामो समयदेखि इजरायलमा केयरगिभर खुलिरहेको थिएन । तर केही साताअघि अचानक केयरगिभरको माग भएपछि देशभरका केयरगिभर तालिम प्रदायक संस्थाहरुमा मानिसहरुको भीड बढ्यो । यस्तै संस्थामध्ये एक हो, इटहरीस्थित यलम्बर केयरगिभर ट्रेनिङ सेन्टर ।

सरकारले अचानक इजरायल जाने गरी केयरगिभर तालिम दिने संस्थाहरुसँग तालिम लिएकाहरुको विवरण मागेपछि दुई तीन दिन त संस्थाहरु नै आत्तिए । किनकी केही दिनको समय मात्र उनीहरुलाई दिइएको थियो । तत्काल सुची पठाउनुपर्ने थियो । यसले ती संस्थाहरु र त्यहाँ तालिम लिनेहरु दुवैलाई उत्साहित बनाएको छ । सँगै तालिम लिएर बस्न प्रोत्साहित समेत गरेको छ । 

‘खुलेपछि मात्र तालिम लिउँला भनेर बस्नेहरुलाई यो घटनाले तालिम चाहिँ लिएर तयारी बस्नुपर्ने रहेछ भन्ने सन्देश दिएको छ,’ इटहरीस्थित यलम्बर केयरगिभर ट्रेनिङ सेन्टरकी प्रशिक्षक कमला निरौलाले भनिन्, ‘हामीसँग तालिम लिनेहरुको नामावली पठायौं, यस्तै अवसर अन्य देशहरुमा पनि खुल्दैछ भन्ने जानकारी पाएका छौं ।’

वैदेशिक रोजगारीमा जान चाहने नेपाली महिलाहरुको लगि केयरगिभर निकै राम्रो अवसर हो । शारीरिक श्रम धेरै नपर्ने अनि कमाई पनि राम्रो हुने हुँदा अन्य रोजगारीका क्षेत्रमा भन्दा यो क्षेत्रमा आकर्षण बढ्दो छ । साथै इजरायललगायत विश्वका विभिन्न देशहरुले केयरगिभरमा मानिसहरु माग्ने गरेका छन् । 

निरौलाका अनुसार केयरगिभर तालिम विदेश जान चाहनेहरुका लागि मात्र होइन, देशमै विभिन्न अस्पताल, केयर सेन्टरहरुमा काम गर्न चाहनेहरुले पनि लिनै पर्ने तालिम हो । ‘अरु त अरु घरमै पनि ज्येष्ठ नागरिकको, बिरामीहरुको स्याहार कसरी गर्ने भनेर सिक्नको लागि यो तालिम उपयोगि हुन्छ,’ सबैले केयरगिभर तालिम लिँदा राम्रो हुने बताउँदै उनी भन्छिन्, ‘यसभित्र बिरामी र अशक्तहरुलाई कसरी उठाउने, लुगा लगाइदिनेदेखि लिएर औषधीहरुको मात्रा, प्रेसर, सुगर जाँचलगायतका कार्यहरुको बारेमा समेत प्रशिक्षण दिइने हुँदा सबैलाई काम लाग्छ ।’

उनले संस्थाले विभिन्न समयावधिका कोर्षहरु डिजाइन गरेर संस्थाको कार्यालयमै र बाहिर पनि समुहहरुलाई तालिम दिइ रहेको जानकारी दिइन् । अवसर छिटो प्राप्त हुने हुँदा यो तालिममा आकर्षण भएको देखिएको छ ।

‘अहिले तालिम लिन चाहनेहरुको चासो बढेको छ, हामीले पनि त्यहीअनुसार आफ्नै कार्यालय र बाहिरका जिल्लाहरुमा समेत तालिम दिइरहेका छौं,’ उनले भनिन् ।

यसका साथै युरोप, अमेरिका, अष्ट्रेलियामा डिपेन्डेन्ट जानेहरुका लागि पनि केयरगिभर राम्रो विकल्प बन्ने गरेको छ । कतिपय देशमा अन्य विषयहरुभन्दा केयरगिभर तालिम लिएका दक्षहरुलाई पिआर मिल्ने सम्भावना पनि उच्च हुने सोही संस्थाका निर्देशक नरेन्द्र दंगाल बताउँछन् । दंगाल ब्रिटिस एजुकेसन कन्सल्टेन्सी इटहरीका सञ्चालकसमेत हुन् ।

यलम्बर सिटिइभीटीसँग सम्बन्धन लिएको कोशी प्रदेशमै केयरगिभर तालिम गराउने एकमात्र संस्था भएको दंगालको भनाई छ । उनकाअनुसार यलम्बरको प्राविधिक सहयोगमा पुर्वका जिल्लाहरुमा समेत तालिम दिइरहेको छ । यस्तै स्थानीय तहहरुलेसमेत केयरगिभर तालिम गराइदिन अनुरोधहरु आउन थालेको उनले बताए । 

‘स्थानीय तहहरुमा ब्युटिपार्लर, सिलाइकटाइ, अचार बनाउने तालिमहरु धेरै भइरहेका छन्, तर ती तालिमहरुको खास उपलब्धी देखिएको छैन,’ उनले भने, ‘केयरगिभरमा चाहिँ देश तथा विदेशमा धेरै अवसर छ ।’