विराटनगर । लेटाङमा रहेको एउटा सहकारीको मुख्य कार्यालय र शाखा कार्यालयमा एकैरात चोरी भएको छ ।
सहकारीको झण्डै १३ लाख रूपैयाँ मंगलबार राति चोरी भएको हो । प्रहरीका अनुसार लेटाङ नगरपालिका–२ फँडानीमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय र उक्त सहकारीको लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको छ ।
मुख्य कार्यालयबाट ८ लाख ९० हजार र शाखा कार्यालयबाट ३ लाख ९० हजार रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए । उनका अनुसार मुख्य कार्यालय र शाखा कार्यालयबाट गरेर १२ लाख ८१ हजार ३० रुपैयाँ चोरी भएको छ ।
सहकारीमा चोरी भएको समय खुल्न नसकेको र बुधबार बिहान मात्रै घटनाका बारेमा थाहा भएको अध्यक्ष भट्टराईको भनाइ छ ।
सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको प्रहरीको भनाइ छ । पहिचान गरेर चोरीमा संलग्नलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।
घटनाको प्रकृति हेर्दा सहकारीका बारेमा सबै जानकारी राख्नेले नै चोरी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।