कैद भुक्तान गरेर छुट्ने दिनमै मोरङ कारागारका कैदीको मृत्यु

न्युजलय ९ पुस २०८०, सोमबार ११:३३ मा प्रकाशित

विराटनगर । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका( १० का चण्डेश्वर सहनीको कैद भुक्तान गरेर छुट्ने दिनमै  मृत्यु भएको छ । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको हो ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ  । 

छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशति छन् ।

सहनीको मृत्युपछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो । जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको बताए ।

लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।