यू–१९ क्रिकेट टोलीकी कप्तान कृर्तिकाले आज विवाह गर्दै

न्युजलय २९ फाल्गुण २०७९, सोमबार ०२:२६ मा प्रकाशित

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान कृतिका मरासिनीले आज विवाह गर्दैछिन् । बुटवल ३ घर भएकी कृतिकाले आज काठमाडौं कपन घर भएका अनिल रायासँग विवाह गर्न लागेकी हुन् ।

३ वर्षअघि देखि चिनजान भएका कृतिका र अनिलले प्रेम सम्बन्धलाई मागेर विवाह गर्न लागेका हुन् ।

अनिलले भने अष्ट्रेलियामा रोजगार गर्ने गर्दछन् । उनले भने क्रिकेटलाई नै निरन्तरता दिने बताएकी छिन् । 

लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने कृतिकाले गत जुन पहिलो साता मलेसियामा भएको यू–१९ महिला विश्वकप एसिया छनोट क्षेत्र छनोटमा नेपालको कप्तानी गरेकी थिइन् । तर खराब प्रदर्शन गर्दै नेपाल पहिलो पटक सम्पन्न भएको टि २० महिला यू–१९ विश्वकप खेल्नबाट चुकेको थियो ।

कृतिकाले २०१९ मा काठमाडौंमा भएको वुमन्स च्याम्पियन लिग (डब्यूसिएल) विराटनगर टाइन्टसबाट खेल्दै प्रभाव छाडेकी थिइन् । त्यसअघि नै उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रदर्शन गर्दै आएकी थिइन्।

२०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । स्पिनर कृतिका आगमी नेपाली क्रिकेटकी भविष्यको रुपमा हेरिदै आएकी छिन् ।