काठमाण्डौ । चलचित्र ‘तिम्रो नजर’ को सुटिङका लागि कागजात किर्ते बनाएर कलाकारसहितको टोलीको नर्वे जान खोजेको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
चलचित्र सुटिङका नाममा युरोप मानव तस्करी गर्न लागेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको हो । चलचित्र सुटिङका लागि जाने भनिएका कलाकारहरूको सूची चलचित्र निर्माण कम्पनीले नयाँ दिल्लीस्थित नर्वेजियन दूतावास पठाएको थियो ।
उक्त सूचीबारे भिषाका लागि ‘कन्फर्म’ गर्न १ भदौ ०७९ मा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई दूतावासले एउटा इमेल पठाएको थियो । उक्त इमेल नै किर्ते गरेर दूतावास पुर्याएपछि घटना बाहिरिएको हो ।
कलाकारको सूची २० जुलाई २०२२ मा दूतावासलाई पठाएको खुलेको छ । तर, उक्त पत्रमा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले हस्ताक्षर नै नगरेको पत्र पठाएको खुलेपछि भिसा रद्द भएको थियो ।
सीआईबीले बोर्डको उजुरीका आधारमा अनुसन्धान थालेको हो । सीआईबीका प्रमुखका अनुसार अनुसन्धानको प्रारम्भीक चरणमै रहेकाले किर्ते कागजातबारे केही खुलेको छैन ।
‘हामी अनुसन्धानका क्रममा छौँ । कागजात किर्ते गरेर दूतावासलाई बुझाएको देखिन्छ । यस्तो काममा कसको संलग्नता थियो भन्नेबारे अनुसन्धान जारी छ । हामीले सोधपुछको काम थालेका छौँ,’ एआईजी सुवेदीले भने ।
सीआईबी स्रोतका अनुसार भने घटनाको अनुसन्धान ब्युरोको टोलीले दुई कोणबाट थालेको छ । एउटा चलचित्र निर्माण गर्न लागेको कम्पनी सञ्चालकहरूबाट र अर्को उनीहरूलाई प्रलोभनमा पारेर कागजात बनाएको हुन सक्ने आशंकामा अनुसन्धान थालेको हो ।
साउन अन्तिम साता चलचित्र सुटिङका लागि नर्वे जान बोर्डको लेटरप्याडमा भिसाका लागि निवेदन नर्वेजियन दूतावास पुगेको थियो । सिफारिसपत्रमा कलाकार केकी अधिकारीदेखि हरिश (आर्यन) सिग्देलसहित १४ जनाको नाम छ । तर, अधिकारी र सिग्देलबाहेक अरु भने परिचित अनुहार छैनन् ।
यो टोली चलचित्र सुटिङका लागि नर्वेसहित युरोपका विभिन्न देश पुग्ने भनिएको थियो । चलचित्र निर्माण कम्पनी ‘ब्लु बर्ड एचडी प्राइभेट लिमिटेड’ ले गर्ने भनिएको छ । तर, चलचित्र तिम्रो नजर निर्माण गर्ने भनिएको कम्पनी निर्माता संघमा दर्तासमेत नभएको पाइएको छ ।