कतार विश्वकप : सेमिफाइनलका खेल मंगलबार र बुधबार हुने

न्युजलय २५ मङ्सिर २०७९, आइतबार ०१:३४ मा प्रकाशित

काठमाडौं । कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति अन्तिम चारणमा पुग्ने टोलीको टुंगो लागेको हो।


कतार विश्वकपमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्।


कतार विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल मंगलबार राति हुनेछ।


क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्स र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।


यस्तै दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बुधबार राति हुनेछ।


फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।