काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
प्रतियोगिताका लागि ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट रहेको छ । जसमध्ये सहभागी टीमहरुको र म्याच अफिसियलहरुको खानपान र बसोबास खर्च साफले बेहोर्ने छ भने खेल मैदान तयारी र स्थानीय यातायात र अन्य खर्चहरु एन्फाले बेहोर्नेछ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रको सहभागिता रहनेछ । सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीमा खेल सञ्चालन हुने एन्फाले जनाएको छ ।