काठमाडौं । मंकीपक्सको आशंका गरिएका एक व्यक्तिमा कुष्ठरोग भएको पुष्टि भएको छ । मंकीपक्स भएको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका ती व्यक्तिमा कुष्ठरोग भएको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा।संगीता मिश्राले ती व्यक्तिमा मंकीपक्स नभई कुष्ठरोग भेटिएको बताइन् । दुबईबाट नेपाल आएका २६ वर्षीय एक पुरुषमा मंकीपक्सको आशंका गरिएपछि शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले विभिन्न ६ ठाउँबाट स्लीट स्कीन स्मेयर जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठरोगको जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु लगिएको थियो ।
हालसम्म विश्वका २९ देशमा मंकीपक्स देखा परेको र एक हजारभन्दा बढी संक्रमित भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि नभएको प्रवक्ता मिश्राले बताइन् ।
विश्वव्यापी रुपमा बढ्दै गएको मंकिपक्सको संक्रमण बारे सचेत र सतर्क अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
मंकीपक्सका कुनै पनि शंकास्पद संक्रमणहरू फेला परेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडेमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका सम्बन्धित अधिकारीहरूलाई सुचना उपलब्ध गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।