अन्जन, जसले गरे एकै वर्ष चार अन्तर्राष्ट्रिय गोल

न्युजलय १९ असोज २०७८, मङ्गलबार ०५:११ मा प्रकाशित

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो खेलमा जित निकालेसँगै नेपाल फाइनलनजिक पुगेको छ । 

सोमबार राति माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले श्रीलंकामाथि ३–२ गोलको जित निकाल्यो।

श्रीलंकाविरूद्ध नेपालका लागि तीन फरक खेलाडीले गोल गर्न सफल भए। पहिलो हाफमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा अन्जन बिष्ट र आयुष घलानले एक एक गोल गर्न सफल भए। 

सुमन र आयुषले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्। अन्जनले भने नेपालका लागि छैठौं अन्तर्राष्ट्रिय गोल गरे। अन्जनले सन् २०१९ मा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

सन् २०२१ मा २३ वर्षीय अन्जनले एकै वर्षमा चार गोल गरिसकेका छन् । श्रीलंकाविरूद्ध सोमबार गोल गरेका अन्जनले भारतसँगको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए । यस्तै ताइपेईविरूद्ध विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलमा पनि अन्जन सफल भए। 

४५ खेल खेल्दै ६ अन्तर्राष्ट्रिय गोल गरेका अन्जनले आफ्नो लक्ष्य नेपालका लागि पुरुषतर्फ सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाउने भएको बताका छन् ।