इटहरी । महिला उद्यमलाई प्रबद्र्धन गर्ने उद्देश्यले सुनसरीको इटहरीमा महिला उद्यमशिलता प्रदर्शैनी गरिने भएको छ ।
इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा भदौ १५ गतेदेखि १७ गते सम्म इटहरीको लायन्स भवनमा प्रदर्शनी गरिने संयोजक मिना ढकालले पत्रकार सम्मेलनमा जानकारी दिएकी छिन् ।
प्रदर्शनीमा घरेलु लघु उद्योगहरुबाट निर्मित दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडीवुटि, हस्तकला, सौन्दर्यकला लगायतका स्टलहरु प्रदर्शनीमा राखिने संयोजक ढकालले जानकारी दिइन् ।
कोशी प्रदेशभरीबाट एक सय स्टलहरु रहने जनाइएको छ । साथै ५० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ ।
नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई जनही १५ हजारका दरले पुरस्कृत गरिने इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष चन्द्र देवकोटा, जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष तेजबहादुर पुरी, होटल ब्यवसायी संघका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्य, उद्योग वाणिज्य संघका महासचिव विनोद पौडेल लगायतको सहभागिता रहेको थियो ।