काठमाण्डौ । गायन रियालिटी सो ‘नेपाल आइडल’ को चौथो संस्करण मंसिर २३ गते रातिबाट प्रसारण हुने भएको छ । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको घोषणा धरहराबाट गरिएको हो ।
देशभरबाट छानिएर आएका सय प्रतिस्पर्धीले नेपाल आइडको चौथो संस्करणको ‘उपाधि’का लागि प्रतिस्पर्धा गर्नेछन् ।
आइडलको तेस्रो सिजनसम्म निर्णायकको कुर्सीमा बसेका कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी र न्ह्यू बज्राचार्य यो सिजनमा देखिने छैनन् ।
यो सिजनमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तानले प्रतियोगीको क्षमता मूल्यांकन गर्नेछन् ।
नेपाल आइडलका अघिल्ला तीन सिजन निकै लोकप्रिय बनेका थिए । सोको निर्देशनका रूपमा सुरेश पौडेल रहेका छन् ।