क्यामरुनी क्लव ‘एभिनियर’ले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

न्युजलय २१ फाल्गुण २०७९, आइतबार ०१:४९ मा प्रकाशित

विराटनगर । २३औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी बि डिभिजन क्लव ‘एभिनियर’ले जितेको छ ।

बुढासुब्बा गोल्डकपको नयाँ च्याम्पियनका लागि शनिबार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियर फुटबल क्लवले यो सिजनको बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो ।

एभिनियरका सब्बा अलीले खेलको ६५ औं मिनेटमा गरेको गोल नै उपाधिका लागि निर्णायक बनेको थियो । विजेता एभिनियरले नगद १० लाखसहित गोल्डकप उचालेको छ । उपविजेतामा सिमित काँकडभिट्टाले ५ लाख हात पारेको हो ।

एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै एभिनियरले फाइनल यात्रा तय गरेको थियो । त्यस्तै काँकडभिट्टाले युनाइटेड कर्साङ क्लब युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गरेर फाइनलमा एभिनियरसँगको भेट पक्का गरेको थियो । तर, काँकडभिट्टाको उपाधि उचाल्ने सपना यसपटक असफल बन्यो ।

धरान–१६ स्थित रंगशालामा फागुन १३ गतेदेखि सुरु भएको बुढासुब्बा गोल्डकपमा तीन विदेशी क्लवसहित आठ वटा टोलीको सहभागिता रहेको थियो ।