धरानमा उपमेयर बेघाले सम्हाले कार्यवाहक मेयरको जिम्मेवारी

न्युजलय ७ कार्तिक २०८१, बुधबार ११:३६ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाको कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर आइन्द्रविक्रम बेघाले सम्हालेका छन् ।

उच्च अदालतले अन्तरिम आदेश दिएसँगै उपप्रमुख बेघाले नगर प्रमुखले गर्ने कानुन बमोजिमका जिम्मेवारी सम्हालेका हुन् ।

कार्यवाहक मेयरको विषयलाई लिएर उच्च अदालत विराटनगरमा परेको रिटमा मंगलबार भएको सुनुवाइमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । अदालतले यसअघि कात्तिक ४ गते सो आदेश दिएको थियो ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरेश कुमार चौधरीको संयुक्त इजलासबाट सोही आदेश कार्यान्वयन गर्न पुनः आदेश जारी गरेको हो ।

मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै ११ नं. का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए । तर, उच्च अदालत विराटनगरले कात्तिक ४ गते नै उक्त जिम्मेवारी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।