चोरीमा संलग्न युवकलाई बिजुलीको पोलमा बाँधेर प्रहरीको जिम्मा

न्युजलय १६ कार्तिक २०८२, शनिवार १२:४६ मा प्रकाशित

धरान । धरान उपमानगरपालिका–१५ स्थित कृष्ण चेम्जोङ टोलमा शनिबार बिहान चोरी गर्ने युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

चोरीमा संलग्न धरान –१५ वस्ने २४ वर्षीय सविन लिम्बूलाई स्थानीयले चोरी गर्दै गर्दा पक्राउ गरी बिजुलीको पोलमा बाँधेर राखेका थिए । केही समयसम्म पोलमा बाँधेर राखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय धरानमा उनलाई जिम्मा लगाएका छन् ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार उनले स्थानीयका घर–घरबाट भाँडा–वर्तन लगायतका सामग्री चोरेका थिए । चोरी गरेका केही सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बू लागुऔषध सेवनकर्ता रहेको र चोरीका क्रममा उनले लागुऔषध सेवन गरी नशामा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताइएको छ । लिम्बूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ ।