नेपाल क्रिकेट संघले गर्यो नेपाल टी-२० लिगको घोषणा

न्युजलय १३ बैशाख २०७९, मङ्गलबार ०१:०८ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघले नेपालको आधिकारिक टी–२० लिगको रुपमा नेपाल टी–२० प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगिताले नेपाली क्रिकेटरलाई अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्ने अवसर दिने क्यानले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।


यो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले समेत मान्यता दिइसकेको छ । लिगको मिति भने घोषणा भएको छैन ।  

 

यो प्रतियोगिताको रणनीतिक तथा व्यापारिक साझेदारको रुपमा भारतको सेभेन थ्री स्पोर्टस रहनेछ ।


युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाल टी–२० ले नेपाली क्रिकेटलाई मात्र नभई सिंगो अर्थतन्त्रलाई नै फाइदा पुग्ने बताए । यो प्रतियोगिताले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, पर्यटन विकास गर्ने र विदेशी मुद्रा आर्जनसमेत गर्ने मन्त्री गहतराजको भनाइ छ ।


नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो प्रतियोगिताले नेपालको क्रिकेटको स्तर माथि उठाउन सहयोग गर्ने बताए ।


नेपाल क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले क्रिकेटमा करिअर बनाउँदै गरेका युवा खेलाडीका लागि यो लिग कोशेढुंगा हुने बताए ।