सरोज भट्टराईको ‘कलेजी प्रेम’ सार्वजनिक

न्युजलय २० असोज २०८३, मङ्गलबार १०:२१ मा प्रकाशित

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।


प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गर्ने लेखक भट्टराईको पहिलो कृति सोमबार लोकार्पण गरिएको हो ।


प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको लोकार्पण समारोहमा नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए ।


त्यसैगरी, दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा ‘कलेजी प्रेम’माथि आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेका थिए ।


लोकार्पण समारोहमा लेखक भट्टराईले ‘कलेजी प्रेम’ केवल प्रेमकथामा सीमित कृति नभई समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने साहित्यिक प्रयास भएको बताए । 


कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले पुस्तकमा प्रस्तुत कथा र विचार नेपालमै बसेर आफ्नो पहिचान बनाउन चाहने धेरै युवाको जीवनसँग मेल खाने बताए । 


देशप्रतिको नागरिक दायित्वमा जोड दिँदै कार्कीले लेखकसहित युवालाई आफ्नो सीप र ज्ञान देश निर्माणमा प्रयोग गर्न आग्रह गरे।