२०७८ साल मङ्सिर १३ गते सोमबार

विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन धमाधम बन्दै

न्युजलय २९ कार्तिक २०७८, सोमबार ०७:३२ मा प्रकाशित

काठमाडौ । नेपालमा विद्युतीय सवारीसाधनको बिक्री बढेसँगै अत्यावश्यक चार्जिङ स्टेसनसमेत बनीरहेका छन् । हालसम्म झण्डै ५ दर्जन मात्रै फास्ट चार्जिङ स्टेसन बनेका छन् । 

यी स्टेसनहरू नेपालमा विद्युतीय सवारीसाधन बिक्री गर्ने हुण्डाई, बीवाईडी, टाटा र कियाले बनाएका हुन् । फास्ट चार्जरबाट करिब १ घण्टामै फुल चार्ज हुन्छ भने घरबाट चार्ज गर्दा ६ देखि ८ घण्टा लाग्ने गरेको छ । सबै विद्युतीय गाडीमा भने फास्ट चार्ज प्रयोग गर्न मिल्दैन। त्यस्तै विद्युती सवारी बिक्रीमा अगाडि रहेको एमजीले चार्जिङ स्टेसन स्थापना गरेको छैन । कम्पनीले २ महिनाभित्र १५ ठाउँमा चार्जिङ स्टेसन राखिसक्ने जनाएको छ । 

यता नेपाल विद्युत् प्राधिकरणले ५० चार्जिङ स्टेसन निर्माण गर्दै छ । प्राधिकरणले चिनियाँ कम्पनी वानवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड जियाङ्सुलाई ठेक्का दिएको छ । प्राधिकरणले चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरेको हो ।

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा ४ सय ४६ वटा विद्युतीय गाडी आयात भएका छन् । विद्युतीय सवारी बिक्रेताले यो वर्ष करिब एक हजार विद्युतीय गाडी बुकिङ भए पनि मागअनुसार आयात हुन नसकेको दाबी गरेका छन् । 

गत आर्थिक वर्षमा २ सय ४९ वटा विद्युतीय गाडी आयात भएकोमा त्यसअघि आर्थिक वर्ष २०७६÷०७७ मा ५ सय ७४ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए।