धनुषा । तुलसीपुर दाङ्गबाट बिराटनगरतर्फ जाँदै गरेको बस धनुषामा दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा बुधबार(आज) बिहान ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
सडकबाट तल खसेको बसमा आफै आगो लागेको ढल्केवर प्रहरीले जनाएको छ । बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको छ ।
घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा ७ जना महिला, ४ जना पुरुष र एक जना बालक रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा २ जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल रहेको छ ।
बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका शसस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ । आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ ।