काराबाओ कपको उपाधि म्यानचेष्टर युनाइटेडलाई

न्युजलय १५ फाल्गुण २०७९, सोमबार ०२:५७ मा प्रकाशित

काठमाडौं । न्युकासललाई हराउँदै म्यानचेष्टर युनाइटेडले काराबाओ कपको उपाधि जितेको छ। गए राति सम्पन्न फाइनल खेलमा न्युकासललाई २–० गोलअन्तरले हराउँदै म्यानचेष्टरले उपाधि हात पारेको हो।  

म्यानचेष्टरको जितमा कासिमिरोले खेलको ३३औँ मिनेटमा गोल गरेका थिए। यस्तै खेलको ३९औँ मिनेटमा मार्कस र्‍यासफोर्डले गोल गरेर २–० को स्थितिमा पुर्‍याए। उक्त गोललाई सुरुमा स्भेन बोटम्यानको आत्मघाती गोल ठानिएको थियो।

योसँगै प्रशिक्षक एरिक टेन हागको नेतृत्त्वमा म्यानचेष्टरले ६ वर्षदेखिको उपाधि खडेरी तोडेको छ। यसअघि सन् २०१७ मा जोसे मोरिन्होको प्रशिक्षणमा म्यानचेष्टरले युरोपा लिग जितेको थियो।