विराटनगरबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

न्युजलय १४ फाल्गुण २०८०, सोमबार ११:४८ मा प्रकाशित

विराटनगर  । विराटनगरबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने वस्तुसहित तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले  उनीहरूलाई विराटनगर–१३ बाट सोमबार(आज) बिहान पक्राउ गरेको हो । 

मोरङ प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ । प्रदेश १–००१ ह १७८३ नम्बरको सीटी सफारीमा सवार रहेका बेला तीनैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । । पक्राउ परेकाको साथबाट १४.४० ग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु बरामद भएको छ। 

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीका अनुसार तीनैजना ब्राउन सुगरको कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतको जोगवनीबाट ब्राउन सुगर भित्राएर नेपालका विभिन्न स्थानमा पुर्‍याउँदै बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।