मोरङ । मोरङमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–९ बेराखुनीका ३७ वर्षीय अनिल शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।
शेर्पाले आफ्नै फार्मभित्र कुखुरा फार्म सञ्चालन गरेका थिए । फार्मभित्र पंखा जोड्ने क्रममा मंगलबार बिहान उनलाई करेन्ट लागेको थियो ।
पंखा जोड्दै गर्दा विद्युत प्रवाह भइरहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका शेर्पालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।