इटहरी । विद्युत प्राधिकरणले काटेको उद्योगको लाइन जोड्न अदालत गुहारेको इटहरीस्थित रिलायन्स स्पिनिङ मिल्स निराश बनेको छ । लाइन जोड्ने अन्तरिम आदेश माग्दै जिल्ला अदालत सुनसरीमा निवेदन दिएकोमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर महसुल नतिर्ने उद्योगको लाइन विद्युत् प्राधिकरणले काटेकोपछि रिलायन्स स्पिनिङ मिल्स अदालत गएको हो ।
न्यायाधीश टेकबहादुर कार्कीको एकल इजलासको आदेशमा भनिएको छ, ‘स्पिनिङ मिल्सले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता ६० किस्तामा बुझाउन मञ्जुर भई निवेदन दिएमा उद्योगको लाइन जडान गर्ने भनी प्राधिकरणको सञ्चालक समितिको निर्णय भएकाले लाइन कटिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्न मिलेन ।’
स्पिनिङ मिल्सले डेडिकेटेड र ट्रंक लाइन उपयोग गरेबापत प्राधिकरणलाई अर्ब ७१ करोड ३१ लाख ६९ असार १ सय ६ रुपैयाँ तिर्न बाँकी छ । रिलायन्सलगायत दर्जन बढी उद्योगको बक्यौता धेरै भएपछि लाइन काटिएको छ ।
अदालतको यो आदेशसँगै उद्योगीहरु महसुल तिर्ने दबाबका परेका छन् ।