विराटनगर । झापा र मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधिसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मेचीनगर–८ बाट स्थानीय २३ वर्षीया गीता बिष्ट र मेचीनगर १० का ३१ वर्षीय मेग्देन गुरुङलाई १ ग्राम ५ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
यसैगरी इलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका ७ का २१ वर्षीय योगेश राईलाई केराबारी ७ खदम खोला किनारबाट प्रतिबन्धित औषधि ट्रमाडोल र डिकोलिङ गरी जम्मा ३६० ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।