इटहरीका दीपेशसहित तीन जना लागूऔषधसहित पक्राउ

न्युजलय १७ माघ २०८०, बुधबार ११:४९ मा प्रकाशित

इटहरी । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र निषेधित औषधिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले हिजो झापाको दमक नगरपालिका ९ का १९ वर्षीय दिकेश मुण्डालाई उनको कोठाबाट २.५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थितमा चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका मोरङको बेलबारी २ का २४ वर्षीय दीप लिम्बूको साथबाट ८० एम्पुल निषेधित औषधिसहित नियन्त्रणमा लिएको हो ।

यस्तै, सुनसरीको दुहबी ५ स्थितमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को ३८ प ५४६५ नम्बरको मोटरसाइकल चालक इटहरी ५ सुनसरीका ४० वर्षीय दीपेश मगरको साथबाट १९४ ट्यावलेट निषेधित औषधिसहित पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।