इटहरी । इटहरी खानेपानी उपभोक्ता समितिको साधारणसभामा उपभोक्ता हितका एजेण्डामा छलफल हुनुपर्ने हो, संस्थाको वृद्धि र विकासका विषयमा बहस हुनुपर्ने हो । तर विहीबार फरक दृश्य देखियो । २० औं बैठक तथा साधारणसभामा सदस्यहरुबिच कुर्सी हानाहान भयो ।
नेपाली काँग्रेस पक्षधर परिषद् सदस्यहरुले एक्कासी विधान संशोधन गर्नुपर्ने माग गरेपछि साधारण सभामा कुर्सी हानाहान भएको हो । विवादपछि काँग्रेस पक्षधर सदस्यहरुले बैठक बहिष्कार गरेका थिए ।
संस्थाको अध्यक्षसहित कार्यसमिति प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने, वडा समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका संशोधन विधानमा गर्नुपर्ने माग गरेका थिए । तर उक्त मागलाई प्रस्तावका रुपमा पेश गर्दा बहुमतले अस्वीकार गरेपछि विवादका क्रममा कुर्सी हानाहान भएको थियो । एक जना सदस्यलाई चोटसमेत लागेको छ ।
काँग्रेस सदस्यहरुले आफूहरु संख्यात्मक रुपमा थोरै भएकोले उपेक्षा गरिएको आरोप लगाएका छन् । खानेपानी उपभोक्ता संस्थामा १८३ परिषद सदस्य रहेका छन् । जसमा नेकपा एमालेको बहुमत छ । एमाले बाहेकका अन्य दलहरुबाट केवल ५० जना परिषद सदस्य निर्वाचित भएका थिए । परिषद् सदस्यहरुबाट अहिले कार्यसमितिको निर्वाचन हुने व्यवस्था छ । जसमा एमाले सदस्यहरु छन् ।
काँग्रेस समर्थित सदस्यहरुले अनावश्यक विवाद झिकेर साधारणसभा असफल बनाउने कोसिस गरेको आरोप एमाले सदस्यहरुले लगाएका छन् ।
कार्यसमिति कोषाध्यक्ष गंगाप्रसाद दाहालकाअनुसार सदस्यहरुले सुरुमा माइन्युट लेखन समितिको नाममा होहल्ला गरेका थिए । त्यसपछि माइन्युट प्रमाणित समितिका नाममा पनि विरोध जनाएका थिए । त्यसपछि विधान संशोधन गर्ने प्रस्ताव गरेको र त्यसमा पनि बहुमतले अस्वीकार गरेपछि कुर्सी हानाहानमा उत्रिएको बताए । 'वहाँहरुको प्रस्ताव असान्दर्भीक छ, यतिखेर निर्वाचन प्रणालीबारे संशोधन गर्न खोज्नुको कुनै तुक छैन, अर्को निर्वाचन आउन धेरै बाँकी छ,' उनले भने ।
कुर्सी हानाहानपछि काँग्रेस समर्थित सदस्यहरुले साधारणसभा बहिष्कार गरेका थिए । काँग्रेस सदस्य हिडेपनि साधारण सभाले बैठकमा पेश भएका नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन लगायतका सबै ९ वटा प्रस्ताव बहुमतले पारित गरेको थियो ।