विराटनगर । विराटनगर जुट मिलमा मंगलबार साँझ आगलागी भएको छ । कसैले आलो लगाइदिएको आशंकामा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
जुट मिलमा मंगलबार साँझ ९ बजेदेखि स्वप्नर ब्लिचिङ डिपार्टबाट आगलागी सुरु भएको थियो । आगलागीका कारण अनुमानित २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा मध्यराती १ बजेसम्ममा आगो नियन्त्रणमा आएको थियो ।
विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योग अहिले भने बन्द अवस्थामा थियो ।