झापा । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसर तनावग्रस्त बनेको छ । उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरूले अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।
उनीहरूले उपचारका संलग्न चिकित्सकमाथि कारबाहीको माग गरिरहेका छन् । अस्पतालको लापरबाहीले बिर्तामोड नगरपालिका– ९ की अन्दाजी ३४ वर्षीया नर्वदा बाँस्कोटाको मृत्यु भएको परिवारजनको आरोप लगाएका छन्।
घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।
बिरामीको मृत्युको कारण अस्पताल प्रशासनले सार्वजनिक गरेको छैन । लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको उनको आरोप छ ।
अहिले अस्पतालको घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल चलिरहेको बताइएको छ ।