धरान । यही पुष २५ गतेदेखि धरानमा यो वर्ष पनि ‘धरान एक्स्पो–२०८१’ लाग्दैछ । एक्सपोका लागि अहिले स्टलको बुकिङलगायतका अन्य तयारी धमाधम भइरहेकोछ ।
धरानको रङ्गशाला परिसरमा आयोजना हुने एक्स्पोका लागि तयारी अन्तीम चरणमा पुगेको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
मुलुकको आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्यसहित वाणिज्य संघले एक्स्पो आयोजना गर्न लागेको हो ।
धरानका स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई गतिशील बनाउने उद्देश्य रहेको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिएका छन् ।
एक्स्पो विशेष रूपमा धरानको स्थानीय उत्पादन, कृषि सामाग्री बेसार, कालो बङ्गुर, तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउन आयोजना गरिएको श्रेष्ठले बताए ।
धरान एक्सपोका लागि पुर्वी नेपालका व्यवशायीहरुका साथै काठमाडौलगायतका पश्चिम नेपालका व्यवशायीहरुसमेत उत्साहित देखिएका छन् ।
यसपटकको मेलामा डोम हेंगरमा निर्मित करिब एक सय ४५ स्टलहरू रहने छन् । डोमभित्र संवेदनशील वस्तुहरूको करिब एक सय वटा स्टल हुनेछन् । बाहिर थप अन्य स्टलहरू हुनेछन् ।
एक्सपोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय कलाकारहरूबाट सांगीतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू रहेको आयोजकले जनाएको छ । धरान एक्स्पो २०८१ माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।