विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या एवं करिब ३३ किलो सुन तस्करी प्रकरणसम्बन्धी मुद्दामा ८ जना दोषी ठहर भएका छन् ।
जिल्ला अदालत मोरङले कर्तव्य ज्यान मुद्दाका ८ जना प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई मंगलबार(आज) जन्मकैदको फैसला सुनाएको हो।
गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो ।
अदालतको फैसला अनुसार उनीहरुले २० वर्ष जेल बस्नुपर्ने छ । अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसूर कायम भएको छ । यसको सजाय निर्धारणका लागि पुनः पेश गरिने बताइएको छ ।
मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको छ । अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाका अनुसार मुद्दाका ७७ जना अभियुक्त मध्ये उच्च प्रहरी अधिकारीसहित ४८ जनाले सफाइ पाएका छन् ।
गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको अनुसन्धानबाट खुलेको थियो । सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ का सनमको हत्या गरेको हो ।
त्यो घटनाको अनुसन्धान गर्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको थियो ।
मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतबारबाट सुरु भएको थियो ।