विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली काँग्रेस नेता केदार कार्की पक्राउ परेका छन् । उनलाई प्रहरीले लछारपछार पार्दै बोकेर अनसनस्थलबाट नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशसभाको गेट अगाडिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपनि कार्की प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै अनसन बसेका थिए । साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएर त्यहाँबाट लगेको थियो । सो क्रममा उनका समर्थक र प्रहरीबिच घम्साघम्सी नै परेको थियो । तानातान र लछारपछारका बिच प्रहरीले उनलाई हात खुट्टामा समातेर झुण्ड्याउँदै लगेको थियो । केदारका समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेका थिए भने सुरक्षाकर्मीले लाट्ठी चार्ज गरेको थियो ।
प्रहरीले नियन्त्रणमा लिएर बुढीगंगा २ टंकिसिनुवारीको कार्कीकै घरमा छोडेपनि उनी पुनः अनशन बस्न देवकोटाचोक आईपुगेका थिए । पहिले अनसन बसेको स्थानबाट करिव ५० मिटर उत्तर उनी पुनः अनसन बसेका छन् । नियन्त्रणमा लिइएको घटनाको विरोध गर्दै कार्कीले आफ्नो शान्तिपूर्ण कार्यक्रममा बिना कारण हस्तक्षेप गरेको भन्दै आक्रोश व्यक्त गरे ।
अहिले पनि उनी अनशन बसेको स्थानमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ । यसअघि पनि समर्थक हरूको उपस्थितिकैबीच कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। माइकिङ गर्दा पनि नहटिकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो ।
केदार कार्की आबद्ध रहेको नेपाली काँग्रेस कोशी प्रदेश सरकारको सत्ता साझेदार दल हो । तर उनको अनसनमा काँग्रेसको शेखर कोइराला पक्षका नेता तथा सांसदहरुले मात्र समर्थन जनाएका थिए भने संस्थापन पक्षका नेता तथा कार्यकर्ताले अनसन पार्टीको नीति नभएको भन्दै पन्छिएका थिए ।
किन बसे अनसन ?
पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरूद्ध अनसन बस्ने चेतावनी दिएका थिए। तर, मुख्यमन्त्री कार्कीले त्यसको कुनै रेस्पोन्स नगरेको बताइएको छ ।
१० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने माग कार्कीले गरेका छन् । यस्तै, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग गरेका छन् ।
आफ्नो नेतृत्वको सरकार विघटनपछि एमाले र माओवादीसहितको सरकार बनेको र उक्त सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा उपरोक्त जनहितकारी एवं समाजवादी कार्यक्रमलाई निर्ममताका साथ कटौती गरिएको उनले दाबी गरेका छन् ।
यता मुख्यमन्त्री कार्कीले भने बजेट अभावका कारण केहि सिमित गरीएपनि बजेट कटौती नगरेको स्पष्ट पार्दै आएका छन् ।प्रदेशको नेतृत्व गरीरहेको नेकपा एमालेका नेता, कार्यकर्ता तथा उनकै पार्टीका नेताहरुले भने पुर्व मुख्यमन्त्री कार्कीले स्टन्ट गरेको आरोप लगाएका छन् ।
पुर्वमुख्यमन्त्री कार्कीले बेलाबेलामा अराजक टिप्पणी गर्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । हालैमात्र पत्रकारको फेसबुक च्याट ग्रुपमा प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष अबिजाल विष्टले अर्कै प्रसंगमा लेखेको मेसेजलाई लिएर स्टाटस लेखेका थिए । प्रेस चौतारी नेपालले विज्ञप्ती निकालेर घटनाको विरोध गरेको थियो ।
त्यसो त आफ्ना कार्यहरुको टिकाटिप्पणी गर्दै समाचार लेख्ने पत्रकारलाई फोन गरेर केरकार गर्ने र सहयोग गर्न दबाब दिने गर्ने गरेको आरोप पनि पत्रकारहरुको छ ।