काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।
नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदानमा उत्रने टोलीका प्रशिक्षक अनन्तराज थापाले बताए । भारतले पनि नेपालमाथि जित निकाल्ने दाबी गरेको छ । गत भदौमा काठमाडौंमा भएको महिला साफ च्याम्पियनसिप पछि नेपाल र भारत मैत्रीपूर्ण खेलमा भिड्न लागेका हुन् ।
साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएको थियो । ओलम्पिक छनोट खेलको तयारीका लागि भारतले नेपाललाई दुई वटा मैत्रीपूर्ण खेल खेल्न निम्ता दिएको हो । दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।