मनोमानी खर्चले इटहरी उपमहानगरपालिकामा आर्थिक संकट, उपभोक्ताले गरे नाराबाजी

न्युजलय २६ भदौ २०८१, बुधबार ०१:५७ मा प्रकाशित

इटहरी । इटहरीका उपभोक्ताहरुले उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलविरूद्ध नाराबाजी गरेका छन् । रकम भुक्तानी नपाएका उपभोक्ताहरुले उपमहानगरपालिका अगाडी धर्ना दिँदै नाराबाजी गरेका हुन् । 


उनीहरुले मेयर पौडेलविरुद्ध  ‘नगरबासीले तिरेको कर, दुरुपयोग गर्न बन्द गर,’ ‘उपभोक्तामाथिको अत्याचार बन्द गर,’ ‘उपभोक्ताहरूको भुक्तानी तुरुन्त दे,’ ‘उपभोक्ताहरू एक हौँ,’ ‘उपभोक्ता हेप्न पाइँदैन, हिलो छ्याप्न पाइँदैन,’ ‘उपभोक्तामाथिको अत्याचार, एकपटक होइन, बारम्बार,’ लगायतका प्लेकार्डसहित नारा लगाएका थिए ।


नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै बनाएर आन्दोलनको घोषणा गरेका थिए । उनीहरुले ७२ घण्टे अल्टीमेटम दिएका थिए । अल्टीमेटमपछि मेयर पौडेलले भुक्तानी दशैंअघि दिइसक्ने बताएका थिए ।


तर उपमहानगरपालिकाले यसअघि पनि पटक पटक भुक्तानीको मिति सार्दै आएकोले मेयर पौडेलको आश्वासनमा विश्वास गर्न नसकेको प्रतिक्रिया दिएका छन् । संघर्ष समितिका संयोजक दीपक श्रेष्ठकाअनुसार इटहरीका दुई सय पचास भन्दा बढी उपभोक्ताहरूको पुरै र ३ सय उपभोक्ता समितिको आंशिक गरी झण्डै २० करोड रुपैया भुक्तानी हुन बाँकी छ । 


उनीहरुले उपमहानगरपालिकाले करोडौको टेण्डर जारी गर्ने, तर उपभोक्ताहरुलाई भने भुक्तानी दिन आनाकानी गर्ने गरेको बताए ।

‘हामीलाई चाहिँ पैसा छैन भन्ने, तर करोडौंका अनावश्यक वा पछि गर्दा हुने खरीद र निर्माण चाहिँ गरिहाल्ने प्रवृत्ती देखिएको छ,’ एक उपभोक्ताले भने, ‘ऋण लिएर विकासमा लगानी गरेका उपभोक्ताहरु मानसिक रुपले प्रताडित भएकोले बाध्य भएर आन्दोलन गरेका हौं ।’


‘उपमहानगरपालिकाको विकासलाई सहयोग गर्नको लागि उपभोक्ताहरुले गाँस काटेर लगानी गरेका छौं,’ इटहरीका सन्दीप काफ्लेले भने, ‘उपमहानगरपालिका भने आफूले दिनुपर्ने रकम नदिएर अनावश्यक काममा खर्च गर्न लागिपरेको छ, जसको कारण सुन धितो राखेर विकासमा लगानी गरेका उपभोक्ताहरु मानसिक तनावमा छन् ।’


उनकाअनुसार सामाग्री आपूर्ती गर्ने व्यवशायीहरुसमेत समयमा भुक्तानी नहुँदा मारमा परेका छन् । उनले उपमहानगरपालिकाले उपभोक्तालाई निरुत्साहित बनाएर विकास निर्माणका काममा टेण्डरलाई प्रश्रय दिन खोजेको समेत शंका व्यक्त गरे । 


उपमहानगरपालिकामा आर्थिक संकट चुलिँदै गएको छ । उपभोक्ताहरुको मात्र होइन, ठेकेदार व्यवशायीहरुको समेत पैसा दिन सकेको छैन । योजनाभन्दा बाहिरका काममा खर्च भएकोले योजना र वास्तविक खर्चको तालमेल नमिलेको जानकारहरु बताउँछन् । खासगरी उपमहानगरपालिकाले योजना विनै  सवारी साधनमा अत्याधिक खर्च गरेको छ । 


तर ती खर्चहरु पनि विवादित बनेका छन् । भर्खरै मात्र चीनबाट ल्याएको इलेक्ट्रिक बसमा समेत करोडौंको चलखेल भएको आरोप लागेको छ । यसअघि पनि सिटिस्क्यान मेसिन खरीदमा करोडौको चलखेल पाइएको समाचार सार्वजनिक भएपछि टेण्डर प्रक्रिया रद्ध गरेको थियो । 


मेयर पौडेलले मनोमानी खर्च गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०८१/८२ को बजेट पास गर्दा पनि मनपरी खर्च नगर्ने शर्त मेयर पौडेलसमक्ष राखेका थिए । तर पौडेल भने वडाध्यक्षहरुले नै बजेट खर्च गर्न दबाब दिने र आफुलाई दोष थोपर्ने गरेको बताउँछन् । उनले उपमहानगरपालिकामा बजेट समस्या नभएको समेत दावी गरेका छन् ।