इटहरीमा नगरबस चल्ने, भ्रष्टाचारबारे मेयर भन्छन्, 'बढी नाफा खाए व्यापारी दोषी'

न्युजलय ३१ भदौ २०८१, सोमबार ०८:२९ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले असोज २ गतेदेखि विद्युतीय नगर बस चलाउने भएको छ । केही साताअघि नै ल्याइसकिएका चार वटा विद्युतीय नगरबस विभिन्न रुटहरूमा सञ्चालनमा ल्याइन लागिएको हो ।


इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै नगरवासीले ३० वर्षअघिदेखि देखेको सपना पुरा भएको बताएका छन् । सर्वसाधारणलाई सहज यातायात सुविधाका लागि तत्काललाई चार वटा बस सञ्चालनमा ल्याइने र क्रमिक थप गरिने उनले जानकारी दिए । 


बसमा २० रुपैया भाडा तिरेर यात्रा गर्न सकिनेछ । बस बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछन् ।


धरान–विराटनगर सडकमा तरहरादेखि वडा नं. १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोलाको पुलदेखि लघुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेतीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी, इटहरीबाट लविपुर, वडा नं. १६, वडा नं. १५ को चाँदवेला सीमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरीसम्म बस सञ्चालन हुने रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरका प्रवक्ता दिवस पोखरेलले जनाए ।


पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मेयर पौडेलले उपमहानगरपालिकाको ऋण हुनु स्वभाविक भएको बताए । उपभोक्ताको झण्डै २० करोड रुपैया भुक्तानी नदिएर आन्दोलन गरिरहेका बेलामा ३० करोड हाराहारी आन्तरिक आय भएको उपमहानगरपालिकाले किन ७ करोडको बस किन्नुपर्यो भन्ने प्रश्नको जवाफमा उनले ऋण लिने र तिर्ने प्रक्रिया नियमित भएको बताउँदै ठूलो कुरा नभएको बताए । 


उनले बस स्थानीय तहले चीनबाट सिधै खरीद गर्न नसक्ने बताउँदै भने, 'बिचमा कुन-कुन कम्पनि मिलेर ल्याए, त्यो छानविन गर्ने र दोषीलाई कारवाही गर्ने जिम्मा सरकारको हो, व्यापारीले २० प्रतिशतभन्दा बढी नाफा खाएको रहेछ भने उसलाई कालाबजारीअन्तर्गतको कारवाही सरकारले गर्छ ।' 


मेयर पौडेलले सार्वजनिक खरीद नियमावलीबारे सांसदहरुले नजानेकोसमेट टिप्पणी गरे । संघीय सांसद अशोककुमार चौधरी र प्रदेश सांसद मीनामाया श्रेष्ठले बस खरीदमा भ्रष्टाचार भएको भन्दै उठाएको प्रश्नबारे जवाफ दिँदै उनले भने, 'माननीय ज्युहरुले नियमावली पढ्नुभएको छैन भन्ने कुरा स्पष्ट हुन्छ ।' उनले चौधरी र श्रेष्ठ कसैको कृपाबाट सांसद बनेको भन्दै योग्यतामा समेत प्रश्न उठाएका थिए ।


पत्रकार सम्मेलनमा उनले काव्यवाटिकामा २० करोड लागतको सभागृह भवनको शिलान्यास भएको बताउँदै डेढ वर्षभित्र निर्माण सम्पन्न हुने जानकारी दिए । यस्तै उनले नगरको गुरुयोजना निर्माणको काम भइरहेकोसमेत जानकारी दिए ।