दुई मिलियन पाउन्डमा बिक्यो म्याराडोनाले हातले गोल गरेको बल

न्युजलय ३ मङ्सिर २०७९, शनिवार ०३:१३ मा प्रकाशित

काठमाडौं । सन् १९८६ को विश्वकपअन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनी कप्तान डिएगो म्याराडोनाले ‘हातले गोल’ गरेका थिए । म्याराडोनाले यस गोललाई ‘ह्यान्ड अफ गड’ अर्थात् भगवान्को हात भनी प्रचार गरे । विश्वकप इतिहासमा म्याराडोनाको हातले गरेको गोल सर्वाधिक विवादास्पद र चर्चित छ । म्याराडोनाकै विवादास्पद गोलको सहयोगमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । त्यही हातले गोल गरेको बल बिक्री भएको छ । 


अक्सनमा बलको सुरुवाती मूल्य १.४ मिलियन पाउन्ड राखिएको थियो । लिलामीमा बलको मूल्य बढ्दै गयो । दुई मिलियन पाउन्डमा बलको बिक्री भएको बेलायती एजेन्सीले जनाएको छ । मेक्सिको विश्वकपमा एडिडास कम्पनीको बल प्रयोग भएको थियो । क्वार्टरफाइनल खेलेका ट्युनिसियाका रेफ्री अली विन नासेर महान् खेलाडीको चिह्नका रूपमा बल बिक्री हुनु राम्रो भएको प्रतिक्रिया दिएका छन् । 


इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा म्याराडोनाले लगाएको १० नम्बरको जर्सी ७.१ मिलियन पाउन्डमा बिक्री भएको थियो । गत जुलाईमा जर्सी अक्सनमा राखिएको थियो । जसलाई इंग्लिस समर्थक स्टिभले किनेका थिए । सन् २०२० को नोभेम्बरमा म्याराडोनाको निधन भएको थियो ।