विर्तामोडमा १२ थान मोबाइलसहित कार चालक पक्राउ

न्युजलय ३१ साउन २०८१, बिहिबार ११:१७ मा प्रकाशित

झापा । विर्तामोडमा बिलबिनाको मोबाइल फोनसहित गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–१ अदुवा खोला छेउमा डब्लुबी ७४ एएक्स १९७४ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गरेका थिए। 

प्रहरीले कारभित्र लुकाइछिपाई लैजाँदै गरेको एप्पल कम्पनीको १२ थान मोबाइल बरामद गरेको थियो। बरामद गरिएको मोबाइलको आवश्यक कागजात नहुँदा कार चालक मेचीनगर नगरपालिका– १० का ३१ वर्षीय सुर मुखियालाई प्रहरी नियन्त्रणमा लिएको छ। 

बरामद गरिएको मोबाइलको नेपाली बजार मुल्य ६ लाख १५ हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बरामद गरिएको मोबाइल, कार र कार चालक मुखियालाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।