खोटाङ । खोटाङको जन्ते ढुङ्गा र बराह पोखरी गाउँपालिकाको सीमास्थित बुवा खोलामा मोटरे बल पक्की पुल शिलान्यास गरिएको छ ।
जन्ते ढुङ्गा गाउँपालिका–१ देविस्थान र बराह पोखरी गाउँपालिका–५ पौवासेराबीचको बुवा खोलामा झन्डै १७ करोड ६० लाखमा निर्माण सम्पन्न हुने पक्की पुलको शिलान्यास गरिएको हो ।
कोसी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बिहीबार औपचारिक रूपमा पुल शिलान्यास गरेका हुन् । प्रदेश सरकारबाट यही आर्थिक वर्ष विनियोजित बजेटले १ सय ४८ मिटर लम्बाई भएको मोटरे बल पक्की पुल निर्माण गर्न लागिएको हो ।
मूल्य अभिवृद्धि कर तथा पिएससहित १७ करोड ५८ लाख ७९ हजार ७ सय २९ मा सम्पन्न गर्ने गरि जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरले पुल निर्माणको ठेक्का लिएको छ । निर्माण कम्पनीले २०८३ कात्तिक–२१ गतेसम्ममा सक्ने गरी ०८१ वैशाख–३० गते पुलको ठेक्का सम्झौता गरेको थियो ।