विराटनगर । मोरङको सुन्दरहरैचा –८ पानट्याङकी टोलमा बसोबास गर्ने आर्थिक रुपमा बिपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने १ जना महिलासहित अनलाईन ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो सोहि स्थानमा बसोबास गर्ने मानिसहरुलाई सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाण्डौ नयाँ बजार घर बताउने २३ बर्षीया सुनिता खत्रीले डब्लु बि.एस.सी कम्पनीबाट गरिब दुखी असायहरुलाई आर्थिक सहयोगको लागि आएको भनी प्रति व्यक्ति १ हजार, १५ सय र ५ सयका दरले रकम वितरण गर्दै उनीहरुको फोटो खिच्ने र नेपाली नागरिकताको फोटोकपी लिईरहेको छ। भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा गाउमा खिचेका ब्यक्तिहरुको फोटो र नेपाली नागरिकताको फोटोहरु बंगलादेशी नागरीक पल्लाबी ढाका बस्ने ४९ बर्षीय महमद खालिद हुसेन र बङलादेश सितागंज घर भई हाल काठमाण्डौ स्थित नयाँ बजारमा बस्दै आएका गार्मेन्टको काम गर्ने ३७ बर्षीय महमद तानबिर हुसेनलाई दिने गरेको खुलेको छ ।
निजहरुले उक्त नागरिकता र फोटो प्रयोग गरी गैर कानुनी रुपमा ईसेवा र खल्ती जस्ता खाताहरु खोली आर्थिक अपराध अनलाईन ठगी गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएसगै खोजतालसमा खटिएका प्रहरी टोलीले ठगीमा संलग्न महमद हुसेन र महमद तानबिर हुसेनलाई सुन्दरहरैचा नगरपालिका–४ बलियाबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका उनीहरुको साथबाट प्रयोग नभएको एनसेल कम्पनीको सिमकार्ड, राहदानी, मोबाईल फोन, नगद र एटीएम कार्ड समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।