विराटनगर । सहकारीले बचत फिर्ता नगरेपछि बचतकर्ताहरुले कार्यालयको कम्प्युटर बोकेर हिडेका छन् । विराटनगर–७ मा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी संस्थाबाट बचतकर्ताहरुले सामान बोकेर लान थालेका हुन् ।
बचत फिर्ता लिन आएका केही व्यक्तिले कम्प्युटर, प्रिन्टर र बस्ने टुलहरू समेत लिएर हिँडेका हुन् ।
३ हजार ५ सय बढी बचतकर्ता रहेको सहकारीमा २ करोड ५० लाख रुपैया बचत छ । यस्तै ऋण लगानी साढे ५ करोड रुपैया छ । बचत फिर्ता माग्दै कार्यालयमा भीड बढ्न थालेपछि प्रहरीले अध्यक्ष रामबहादुर घिमिरे र अर्का एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
अध्यक्ष घिमिरेले सहकारीका मेनेजर लोचन राई तीन महिनादेखि काममा नआएकोले हिसाब निकाल्न समस्या भएको छ । राईले सहकारीको ३५ लाख रुपैया चलाएको स्वीकार गरेको र घर बेचेर दिने बताएको घिमिरेले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । सहकारीको हिसाबकिताब नहुँदा राष्ट्रिय सहकारी बैङ्कले पैसा निकासा नदिएको कारणले पनि बचत फिर्ता दिन समस्या भएको हो । पाउनु पर्ने भुक्तानी पनि बैङ्कबाट रोक्का भएको कारणले फिर्ता दिन नसकेको अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।