बेथितिको विरोध गर्दा हटाइए क्रिकेटका कप्तान र उपकप्तान

न्युजलय २ पुस २०७८, शुक्रबार ०१:३३ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको राष्ट्रिय टिमका कप्तान र उपकप्तानसँगै ४ जनालाई कारबाही गरेको । कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को केन्द्रीय ग्रेडबाट सुरुवाती ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।


उनीहरुलाई अनुशासनको कारबाही गर्दै जिम्मेवारीबाट हटाइएको हो । क्यानले गठन गरेको अनुशासनसम्बन्धी छानबिन समितिले खेलाडीहरूले आचारसंहिता उल्लंघन गरेको प्रतिवेदन दिएपछि ज्ञानेन्द्र र दीपेन्द्रलाई जिम्मेवारीबाट हटाएको हो ।  


मल्लसहितका खेलाडीले क्यानले कात्तिकमा जारी गरेको खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल, कमलसिंहले असन्तुष्टि पोखेका थिए । त्यसपछि क्यानले उनीहरूसँग २५ कात्तिक र ८ मंसिरमा गरी दुईपटक स्पष्टीकरण लिएको थियो । 


यसबीच ५ मंसिरमा ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै क्यानलाई ११ बुँदे माग बुझाए । उनीहरूले क्यानलाई सात दिनभित्र आफ्नो माग पूरा हुनुपर्ने माग राखेका थिए । सोमपालले बी ग्रेडमा पर्दा आफूमाथि अन्याय भएको बताएका थिए भने कमलसिंह सी ग्रेडमा रहँदा सन्तुष्ट थिएनन् । 


क्यानको वर्गीकरणमा ज्ञानेन्द्र र दीपेन्द्र ग्रेड एमा छन् । वर्गीकरणमा असन्तुष्ट हुँदा क्यान र खेलाडीबीच विवाद बढ्दै गएको थियो । छानबिन समितिले आइतबार क्यानलाई प्रतिवेदन बुझाएको थियो । क्यानले अन्तिममा मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय लिएको हो ।