काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोलको कुनै अभाव नभएको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण भएको जनाएको छ ।
त्यसैगरी, निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भइरहेको मन्त्रालयको भनाइ छ ।
डेंगु संक्रमणको कारण अहिले बजारमा पारासिटामोलको अभाव छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी फैलिएको डेंगु ७७ जिल्लामा पुगिसकेको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २८ हजार संक्रमित र ३६ जनाको डेंगुको कारणले मृत्यु भइसकेको छ ।