इटहरी । सुनसरीबाट एक क्विन्टल गाँजासहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
इनरूवा नगरपालिका–९ बबिया चोकबाट आइतबार एक क्विन्टल १६ केजी गाँजासहित धनकुटाको साँगुरीगढी गाउँपालिका–१ बस्ने ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बूलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा गणबाट खटिएका सशस्त्र प्रहरी बलले धनकुटाबाट प्रदेश नम्बर १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारबाहीका लागि प्रहरीकहाँ पठाइएको जनाइएको छ ।