काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।
उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।
किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।
भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली सहित पर्व मनाउछन् ।