झापामा शौचालयबाट कैदी फरार

न्युजलय ३० भदौ २०८१, आइतबार ०१:३० मा प्रकाशित

 झापा । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् ।

फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ ।

छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ ।