मोरङमा विद्यालय जाँदै गर्दा खोलाले बगाएर एक बालकको मृत्यु

न्युजलय ११ असार २०८१, मङ्गलबार ०२:३० मा प्रकाशित

विराटनगर । मोरङस्थित केराबारी गाउँपालिकामा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । केराबारी ४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई मंगलबार बिहान  गोविने खोलाले बगाएको हो ।

श्याम राईको करिब एक सय मिटर तल पुर्‍याएको अवस्थामा खोलामा शव भेटिएको छ । टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव फेला परेको बताइएको छ  ।

मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए । 

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोली घटनास्थलतर्फ लागेको छ ।

घटनास्थल पुग्न प्रहरीलाई करिब ३ घण्टा समय लाग्छ । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिने मोरङ प्रहरीले जनाएको छ ।